
दुहबी । सुनसरीको दुहबीमा सम्पन्न तेस्रो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ७ ले जितेको छ । फाइनलमा वार्ड नम्बर १० लाई शुन्यका विरुद्ध १ गोलले हराउँदै वार्ड नम्बर ७ ले उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो ।
दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा वार्ड नम्बर ७ का लागि सेवन रिसिदेव निर्णायक बने । रोमाञ्चक खेलको ६१औं मिनटमा रिसिदेवले गरेको एक मात्र निर्णायक गोल वार्ड नम्बर ७ लाई उपाधि जिताउन प्रर्याप्त बन्यो ।
विजेता बनेको वार्ड नम्बर ७ ले उपाधिका साथ नगद १ लाख १ हजार हात पार्यो भने उपविजेता वार्ड नम्बर १० ले ५१ हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई दुहबी नगरपालिका, सुनसरीका नगर प्रमुख बेदनाथ गच्छदार लगायत अन्य अतिथीहरुले पुरस्कृत गरे ।
दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा गत माघ १७ गतेदेखि शुरु प्रतियोगितामा दुहबी नगर भित्रका कुल १२ वार्डहरुका टिमहरुले सहभागिता जनाएका थिए ।