News आयोजक योङ स्टारलाई चौथो ल्होछार कपको उपाधि
गोलनेपाल

निजगढ । संघर्षपुर्ण जितका साथ बारा जिल्लामा सम्पन्न चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, बाराले जितेको छ । आयोजकले पहिलोपटक यो उपाधि उचाल्न सफल भएको हो ।

शनिबार सम्पन्न फाइनलमा योङ स्टारले युनाइटेड युवा क्लब, बर्दिबास–८, महोत्तरीलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि बुद्ध चोक मिनी रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ योङ स्टारका लागि अभिषेक लामाले गोल गरेका थिए भने युनाइटेडका लागि प्रदिप मगरले गोल गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा भने योङ स्टार ५–४ ले विजयी बन्यो ।

विजेता बनेको योङ स्टारले उपाधिसहित नगद २,१०,०१० रुपैयाँ हात पार्यो भने उपविजेता युनाइटेडले १,०५,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । योङ स्टारका अजित चौधरी फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।

अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक योङ स्टार कै गोपी बर्तौला बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार आयोजक योङ स्टारका अभिषेक लामाले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि आयोजक योङ स्टारकै अजित चौधरी घोषित भए ।

 

Post Comments