पथरी शनिश्चरे । उर्लाबारी भेट्रान्स क्लब, मोरङ जारी दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ उर्लाबारी भेट्रान्सले मिल्स भेट्रान्स क्लब, बिराटनगरलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा उर्लाबारी भेट्रान्सका गोलरक्षक बिनोद गौतम प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ २० गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल बिराटचोक भेट्रान्स क्लब, मोरङ र सतिसाले भेट्रान्स क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २४ गतेका दिन हुनेछ ।
