News ताप्लेजुङको नाल्बुमा वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–६ नाल्बुमा यही माघ २५ गतेदेखि वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। नाल्बु लिम्बू समाजको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताले स्थानीय खेलकुदको विकाससँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै महिलातर्फ विजेताले ५१ हजार १ सय रुपैयाँ र उपविजेताले ३१ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन्।

दुवै विधामा प्रथम पुरस्कार सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारद्वारा प्रायोजन गरिएको हो भने द्वितीय पुरस्कार लालबहादुर नाल्वो, उनकी श्रीमती तुलामाया नाल्वो तथा छोराहरू दिलबहादुर र मनबहादुर नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारले प्रायोजन गरेको समाजका सचिव योगेन नाल्वोले जानकारी दिनुभयो।

आयोजकका अनुसार पुरुष फुटबलतर्फ सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही १० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिनेछ। साथै, हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ दिइनेछ। विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर तथा सर्वोत्कृष्ट खेलाडीलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने समाजले जनाएको छ।

Post Comments