काठमाडौं । स्वामी दयानन्द सरस्वतीको २०२औँ जन्मजयन्तीको अवसरमा डीएभी विद्यालयद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिप जावलाखेलस्थित डीएभी विद्यालय परिसरमा सुरु भएको छ ।
नेपाल र भारतका आठ फुटबल एकेडेमी तथा क्लबको सहभागिता रहेको प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का खेलहरू सम्पन्न भएका छन् । समूह चरणको खेलपछि जावलाखेल युथ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने काठमाडौं किकर्स उपविजेता बनेको छ ।
समूह ‘ए’ को पहिलो खेलमा होलिभिजन फुटबल एकेडेमीले डीएभी स्पोट्र्स एकेडेमीलाई ३–० ले पराजित गर्यो । दोस्रो खेलमा जावलाखेल युथ क्लबले काठमाडौं किकर्सलाई ३–१ ले हरायो ।
तेस्रो खेलमा होलिभिजन फुटबल एकेडेमी र जावलाखेल युथ क्लबबीचको प्रतिस्पर्धा ३–३ गोलको बराबरीमा सकियो । चौथो खेलमा काठमाडौं किकर्सले डीएभी स्पोट्र्स एकेडेमीलाई ४–३ ले पराजित गर्यो । त्यसैगरी पाँचौँ खेलमा काठमाडौं किकर्सले होलिभिजनलाई ५–१ को फराकिलो अन्तरले हरायो। समूह चरणको अन्तिम खेलमा जावलाखेल युथ क्लबले डीएभीलाई ५–१ ले पराजित गर्दै समूह विजेता बन्ने यात्रा पूरा गर्यो ।
माघ २७ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक डीएभी स्पोट्र्स एकेडेमीसहित बोलपुर टाउन क्लब (पश्चिम बंगाल, भारत), होलिभिजन फुटबल एकेडेमी, काठमाडौं किकर्स फुटबल एकेडेमी, जावलाखेल युथ क्लब, मारियो ग्रासरुट क्लब, एजी–१० फुटबल एकेडेमी र दिलिप मेमोरियल फुटबल एकेडेमी सहभागी छन् ।
आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिनेछ । भारत र नेपालबीचको फुटबल सम्बन्ध मजबुत बनाउनुका साथै युवा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक अनुभव दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न