काठमाडौं । १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको छैठौं दिन रोचक र प्रतिस्पर्धात्मक खेलहरूसहित सम्पन्न भएको छ। दिनको पहिलो खेलमा थामिचोवाले खुम्बु युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।
थामिचोवाको जितमा ल्हाक्पा सोनाम शेर्पाले २५औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा (३५+१) तेन्जिङ छोपाल शेर्पाले दोस्रो गोल थप्दै जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका ल्हाक्पा सोनाम शेर्पा ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले प्रमाणपत्र, मेडलसहित नगद रु. ३,००० प्राप्त गरे।
दोस्रो खेलमा नाम्चेले आमादब्लमलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। खेलको ५८औं मिनेटमा कर्मा ताशीले गोल गर्दै आमादब्लमलाई अग्रता दिलाएका थिए। तर नाम्चेले उत्कृष्ट पुनरागमन गर्दै ६८औं मिनेटमा विशाल मगरले बराबरी गोल फर्काए। त्यसपछि खेलको अतिरिक्त समय (७०+४) मा मिना ताशीले पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै निर्णायक गोल गरे। उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द म्याचलाई प्रमाणपत्र, मेडल र नगद रु. ३,००० प्रदान गरिएको आयोजकले जनाएको छ।
यससँगै खुम्जुङ युथ क्लब, महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम, खुम्बु युनाइटेड र नाम्चे युथ ग्रुपले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेका छन्। भोलि हुने सेमिफाइनल खेलअन्तर्गत खुम्जुङ युथ क्लब र नाम्चे युथ ग्रुप तथा खुम्बु युनाइटेड र महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।