News मनाङ २५औं आहा! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा
उमेश पुन

पोखरा । मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी प्रतिष्ठित २५औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार प्रिक्वाटरफाइनलतर्फ मनाङले विभागीय टोली एपिएफ फुटबल क्लबको चुनौति २–१ ले पन्छाउँदै अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो । पोखरा रंगशालामा खेलको ११औं मिनटमा युवराज राईको गोलबाट अग्रता भने एपिएफले लिएको थियो ।

तर, दोस्रो हाफमा मनाङले पूनःरागमन गर्यो । मनाङका लागि ५७औं मिनटमा रोनिश ढेके राजभाकले बराबरी गोल फर्काए भने ७७औं मिनटमा सुरेश कुमालले दोस्रो तथा निर्णायक गोल गरे । खेलमा मनाङ कै गोलकर्ता रोशिन म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत फागुन १ गते शुक्रबारको प्रिक्वाटरफाइनल खेल फ्रेण्डस क्लब र प्लानिङ ब्वाईज युनाइटेडबीच हुने आयोजकले जानकारी दियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १४ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन ९ गतेका दिन हुनेछ ।

 

Post Comments