पोखरा । प्रभावशाली जित हात पार्दै प्लानिङ ब्वाईज युनाइटेड क्लब, काठमाडौं जारी २५औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ प्लानिङ ब्वाईजले फ्रेण्डस क्लब, कुपण्डोललाई ४–० को अन्तरले हराउँदै अन्तिम आठमा आफनो स्थान सुरक्षित गरेको हो । पोखरा रंगशालामा भएको खेलमा प्लानिङ ब्वाईजका लागि पापा इबु केबेले ह्याट्रिक गरे भने थप एक गोल एलेक्स विलियनले गरे । खेलमा ह्याट्रिक गरेका पापा इबु केबे प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत फागुन २ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल आयोजक सहारा क्लब, पोखरा र नेपाल पुलिस क्लब, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १४ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन ९ गतेका दिन हुनेछ ।