News काठमाडौँ किकर्सलाई इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि
गोलनेपाल

काठमाडौं । स्वामी दयानन्द सरस्वतीको २०२औँ जन्मजयन्तीका अवसरमा डीएभी विद्यालयद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि काठमाडौँ किकर्स फुटबल एकेडेमीले जितेको छ ।

आयोजक डीएभी विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा काठमाडौँ किकर्सले जावलाखेल युथ क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै उपाधि उचालेको हो । निर्धारित समयमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै, तेस्रो स्थानका लागि मारियो ग्रासरुट स्पोट्र्स क्लब र एजी–१० फुटबल एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै एजी–१० फुटबल एकेडेमी विजयी भई तेस्रो स्थान हासिल गर्न सफल भयो । प्रतियोगितामा बोलपुर टप क्लबले ‘फेयर प्ले अवार्ड’ जित्न सफल भयो ।

विधागततर्फ काठमाडौँ किकर्सका कबिर तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । एजी–१० फुटबल एकेडेमीका सिद्धान्त राय सर्वाधिक गोलकर्ता बने भने जावलाखेल युथ क्लबका जयन्द्र चौधरी उत्कृष्ट गोलकिपर घोषित भए ।

उपाधि विजेता काठमाडौँ किकर्सले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो भने उपविजेता जावलाखेल युथ क्लबले १० हजार रुपैयाँ नगदसहित सम्मान प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय खेलाडी विशाल सुनार तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको सहभागिता रहेको थियो ।

Post Comments