केराबारी । केराबारी–८, मोरङस्थित मच्छिन्द्र रंगशालामा जारी चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कप २०८२ अन्तर्गत तेस्रो क्वाटरफाइनल खेलमा द योङ ब्रदर्स क्लब, इटहरी (सुनसरी) ले उपाधिकै प्रबल दाबेदार सातदोबाटो युथ क्लब, ललितपुरलाई १–० गोल अन्तरले पराजित गर्दै सनसनीपूर्ण रूपमा सेमीफाइनलमा प्रवेश गरेको छ। ‘द ह्वाइट टाइगर्स’ उपनामले चिनिने सातदोबाटोलाई मोफसलको टोलीले रणनीतिक अनुशासन, बलियो रक्षापंक्ति र तीक्ष्ण प्रत्याक्रमणमार्फत स्तब्ध बनाएको हो।
पहिलो हाफको ३८औँ मिनेटमा द योङ ब्रदर्सका असिम राईले देब्रे खुट्टाबाट गरेको सशक्त र सटीक प्रहार सिधै सातदोबाटोको गोलपोस्टको जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए। उक्त प्रहार नै खेलको एकमात्र निर्णायक गोल सावित भयो। पहिलो हाफ १–० को अग्रतामा सकिएको खेल दोस्रो हाफमा सातदोबाटोले निरन्तर दबाब सिर्जना गर्दा पनि बराबरी गोल फर्काउन सकेन। द योङ ब्रदर्सको संयमित रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट प्रदर्शनले अन्तिम समयसम्म जीत सुरक्षित गर्यो।
निर्णायक गोलकर्ता असिम राई उत्कृष्ट प्रदर्शनका आधारमा ‘म्यान अफ द म्याच’ घोषित भए।
माघ २८ गतेदेखि सुरु भएको प्रतियोगितामा स्वदेश तथा विदेशका गरी ८ टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल फागुन ६ गते दिउँसो २ बजे मच्छिन्द्र रंगशालामा हुनेछ। विजेता टोलीले नगद रु ४ लाख तथा उपविजेताले रु २ लाख पुरस्कार प्राप्त गर्नेछन्, साथै विभिन्न विधागत पुरस्कारहरू प्रदान गरिने आयोजकले जनाएको छ।