केराबारी । केराबारी–८, मोरङस्थित मच्छिन्द्र रंगशालामा जारी ४थ अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कप २०८२ अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा आयोजक केराबारी फुटबल क्लब, केराबारी (मोरङ) ले चित्लाङ फुटबल क्लब, काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनल समीकरण पूरा गरेको छ।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले सशक्त रक्षात्मक रणनीति अपनाउँदै आक्रमण र प्रत्याक्रमणको खेल प्रस्तुत गरे पनि निर्धारित समयसम्म गोल हुन सकेन। खेल अतिरिक्त समयमा पुगेपछि तनाव चरम सीमामा पुगेको थियो।
अतिरिक्त समयको अन्तिम मिनेटमा निरज परियारले गरेको सटीक र निर्णायक प्रहारले जाल चुम्दै आयोजक टोलीलाई ऐतिहासिक जीत दिलायो। उक्त गोल नै खेलको एकमात्र निर्णायक गोल सावित भयो। उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल गरेका निरज परियार ‘म्यान अफ द म्याच’ घोषित भए।
यस जितसँगै सेमीफाइनल समीकरण पूरा भएको छ। भोलि हुने पहिलो सेमीफाइनल खेलमा झापा–११, बिर्तामोड (झापा) र द योङ ब्रदर्स क्लब, इटहरी (सुनसरी) आमनेसामने हुनेछन्, जसले फाइनल यात्राको ढोका खोल्नेछ।
माघ २८ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन ६ गते दिउँसो २ बजे हुने फाइनल खेलसँगै सम्पन्न हुनेछ। प्रतियोगितामा स्वदेश तथा विदेशका गरी ८ टोलीहरूको सहभागिता रहेको छ। विजेता टोलीले नगद रु ४ लाख तथा उपविजेताले रु २ लाख पुरस्कार प्राप्त गर्नेछन्, साथै विभिन्न विधागत पुरस्कारहरू पनि प्रदान गरिनेछ।