News प्लानिङ ब्वाईजलाई २६औं बुढासुब्बा गोल्डकपको उपाधि
गोलनेपाल

धरान । सुनसरीमा सम्पन्न प्रतिष्ठित २६औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंले जितेको छ ।

शनिबार सम्पन्न फाइन्लमा प्लानिङ ब्वाईजले चर्च ब्वाईज युनाइटेड क्लब, ललितपुरलाई १–० को साँघुरो अन्तरले हराउँदै विजेता बन्न सफल भएको हो । धरान रंगशालामा भएको खेलको ६३औं मिनटमा प्रताप सिंह राईले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।

विजेता बनेको प्लानिङ ब्वाईजले उपाधिसहित नगद १० लाख हात पार्दा उपविजेता चर्च ब्वाईजले ५ लाखमा चित्त बुझायो । फाइनल खेलको प्लेयर अफ दि म्याच प्लानिङ ब्वाईज कै पुजन थापा बने । उनले त्यसवापत नगद १० हजार र ट्रफी हात पारे ।

त्यस्तै अन्य विधागततर्फ प्लानिङ ब्वाईज कै योगेश धिमाल उत्कृष्ट गोलरक्षक बन्दा उत्कृष्ट डिफेन्डर पनि प्लानिङ ब्वाईज कै निग्मा घिसिङ बने । उत्कृष्ट मिडफिल्डर चर्च ब्वाईजका रोहन कार्की चुनिदा उत्कृष्ट फरवार्ड पनि चर्च ब्वाईज कै आबायोमी चुनिए । विधागततर्फका उत्कृष्ट बनेका सबैले २५–२५ हजार हात पारे ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार भने चर्च ब्वाईजका प्रताप सिंह राई र झापा–११ का एरोन थापा र राजेश दाहालले संयुक्त रुपमा हात पारे । तीन खेलाडीहरुले समान २–२ गोल गरेका थिए । तीनै जनाले जनही १२–१२ हजार हात पारे ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने प्लानिङ ब्वाईजका प्रताप सिंह राई घोषित भए । उनले त्यसवापत एक थान डियो स्कुटर हात पारे । धरान फुटबल क्लब, सुनसरीको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments