केराबारी । सन्तोष गुरुङ केराबारी–८, मोरङस्थित मच्छिन्द्र रंगशालामा जारी चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कप २०८२ अन्तर्गत आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा झापा–११, बिर्तामोड (झापा) ले द योङ ब्रदर्स क्लब, इटहरी (सुनसरी) लाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। कोशी प्रदेश डर्बीका रूपमा हेरिएको यस खेलमा झापाले सुरुदेखि नै आक्रामक र आत्मविश्वासी प्रदर्शन प्रस्तुत गरेको थियो।
खेलको १२औँ मिनेटमा झापा–११ ले पेनाल्टी अवसर पाएको थियो, जसलाई निखिल तामाङले सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए। पहिलो हाफ सोही अग्रतामा टुंगिएको थियो। दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै निखिल तामाङले पुनः उत्कृष्ट प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गरे र टोलीको अग्रता दोब्बर बनाए। निर्धारित समयको अन्तिम मिनेटमा घनश्याम कार्कीले थप एक गोल गर्दै झापाको शानदार जित सुनिश्चित गरे। पूरा समय ३–० को नतिजासहित झापा–११ फाइनलमा प्रवेश गरेको हो। दोहोरो गोलसहित उत्कृष्ट प्रदर्शन गरेका निखिल तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए।
माघ २८ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन ६ गते दिउँसो २ बजे हुने फाइनल खेलसँगै सम्पन्न हुनेछ। विजेता टोलीले नगद रु ४ लाख तथा उपविजेताले रु २ लाख पुरस्कार प्राप्त गर्नेछन्, साथै विभिन्न विधागत पुरस्कारहरू प्रदान गरिनेछ।
प्रतियोगिताको आयोजना केराबारी फुटबल क्लब, मोरङले गरेको हो भने मुख्य प्रायोजक केराबारी गाउँपालिका, मोरङ (कोशी प्रदेश) रहेको छ।