केराबारी / केराबारी–८, मोरङस्थित मच्छिन्द्र रंगशालामा जारी चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कप २०८२ अन्तर्गत आज सम्पन्न दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा आयोजक केराबारी फुटबल क्लब, मोरङले डाँडाबजार फुटबल क्लब, धनकुटालाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। अब उपाधिका लागि केराबारीले झापा–११, बिर्तामोड (झापा) सँग प्रतिस्पर्धा गर्नेछ।
खेलको पहिलो हाफदेखि नै आयोजक टोलीले आक्रामक खेल प्रस्तुत गरेको थियो। १२औँ मिनेटमा नेपु तामाङले सटीक प्रहारमार्फत गोल गर्दै केराबारीलाई अग्रता दिलाए। त्यसपछि ३४औँ मिनेटमा भुवन बस्नेतले अर्को गोल थपेपछि पहिलो हाफ २–० को अवस्थामा सकिएको थियो। दोस्रो हाफमा पनि केराबारीले खेलमाथि नियन्त्रण कायम राख्दै ७१औँ मिनेटमा रोशन राईले तेस्रो गोल गरे।
त्यसपछि खेलमा थप गोल हुन सकेन र पूरा समय ३–० को नतिजासहित आयोजक टोली विजयी बन्यो। उत्कृष्ट प्रदर्शन गर्दै पहिलो गोल गरेका नेपु तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए।
माघ २८ गतेदेखि सुरु भएको प्रतियोगिताको बहुप्रतीक्षित फाइनल खेल फागुन ६ गते दिउँसो २ बजे हुनेछ। प्रतियोगिताको आयोजना केराबारी फुटबल क्लब, मोरङले गरेको हो भने मुख्य प्रायोजक केराबारी गाउँपालिका, मोरङ (कोशी प्रदेश) रहेको छ। विजेता टोलीले नगद रु ४ लाख तथा उपविजेताले रु २ लाख पुरस्कार प्राप्त गर्नेछन्, साथै विभिन्न विधागत पुरस्कारहरू प्रदान गरिनेछन्।