पोखरा । आयोजक सहारा क्लब, पोखरा यहाँ जारी प्रतिष्ठित २५औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा सहाराले मनाङ मस्र्याङ्दी क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । पोखरा रंगशालामा भएको निर्धारित समय र थपिएको अतिरिक्त समयको खेलमा पनि गोल हुन नसक्दा पेनाल्टीमा सहारा ७–६ ले विजयी बन्यो । खेलमा सहारा कै विदेशी खेलाडी टाए डेनियल बडारु प्लेयर अफ दि म्याच बने ।
यो फाइनल यात्रा सहाराको लागि ऐतिहासिक उपलब्धी समेत बनेको छ । यसअघि वि.सं. २०७० सालको १२औं संस्करणको प्रतियोगितामा फाइनल पुगेको सहाराले त्यसको १२ वर्षपछि अर्को फाइनल यात्रा तय गर्न सफल भएको हो ।
प्रतियोगिता अन्तर्गत फागुन ७ गते बिहीबार हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब, ललितपुर र आभा फुटबल क्लब, उज्वेकिस्तानबीच हुने आयोजकले जानकारी दियो ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १४ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन ९ गतेका दिन हुनेछ ।