त्रियुगा । विभागीय भिडन्तमा जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब उदयपुरमा जारी एन्फा महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो । त्रियुगा नगरपालिका स्थित थरुहट रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीका लागि खेलको आठौं मिनटमा बिमला चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलमा आर्मी कै दिपा शाही प्लेयर अफ दि म्याच बनिन् ।
प्रतियोगिता अन्तर्गत फागुन ७ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल अर्को दावेदार टोली एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ९ गतेका दिन हुनेछ ।