पोखरा । जावलाखेल युथ क्लब, ललितपुर पोखरामा जारी प्रतिष्ठित २५औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा जावलाखेलले उज्वेकिस्तानको आभा फुटबल क्लबलाई १–० को साँघुरो अन्तरले १४ वर्षपछि पोखरा गोल्डकपको उपाधि नजिक पुगेको हो । स्मरण रहोस, यसअघि जावलाखेलले २०६८ सालमा अन्तिमपटक प्रतियोगिताको फाइनल खेलेको थियो । त्यतिबेला जावलाखेलले मनाङसँग फाइनलमा हार बेहोरेको थियो ।
यता बिहीबार भएको दोस्रो सेमिफाइनलतर्फ खेलको ५२औं मिनटमा आभाका कुशान गानिजानोवले गरेको आत्मघाती गोल जावलाखेललाई फाइनल पुर्याउन निर्णायक गोल बन्यो । खेलमा जावलाखेलका जोखिदजोन रखिमोव प्लेयर अफ दि म्याच चुनिए ।
अब जावलाखेलले यही फागुन ९ गते शनिबार हुने फाइनलमा घरेलु टोली आयोजक सहारा क्लब, पोखरासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकलेजनाएको छ ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १४ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन ९ गतेका दिन हुनेछ ।