भलुवा । दुहबी नगरपालिका वडा नं.- ७ सुनसरी स्थित भलुवा खेलकुद मैदानमा श्री गोल्डेन स्टार युथ क्लबको आयोजनामा जारी ११ औँ अन्तर्राष्ट्रिय आमन्त्रण भलुवा गोल्डकपको पहिलो सेमीफाइनल खेल भव्यताका साथ सम्पन्न भएको छ।
बिहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मेमोरी युवा क्लब सुनसरीलाई एक गोलका विरुद्ध दुई गोलले स्तब्ध पार्दै चात्यासा दमक झापा उक्त प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। पहिलो हाफको २० औँ मिनेटमा राजेश दाहालले गोल गर्दै चात्यासालाई अग्रता दिलाएका थिए। राजेशको उक्त गोलसँगै पहिलो हाफमा झापाले साघुँरो अग्रता लिएको थियो।
दोस्रो हाफ राम्रो सुरुवात गर्ने क्रममा खेलको दश औं मिनेटमा उत्कृष्ट गोल गर्दै पुजन थापाले मेमोरी युवा क्लबलाई बराबरी अवस्थामा ल्याएका थिए, तर मेमोरी युवा क्लबले उक्त बराबरीलाई धेरै बेर टिकाउन सकेन। २८ औं मिनेटमा विदेशी खेलाडी डेनियल ताएले गोल गर्दै चात्यासा दमक झापालाई पुन: अग्रता दिलाएका थिए। त्यसपश्चात बाँकी समय दुवै टोलीबाट थप गोल हुन नसक्दा मेमोरी युवा क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै चात्यासा दमक झापाले फाइनलमा स्थान सुरक्षित गरेको हो। निर्णायक गोल गरेका डेनियल ताए उक्त खेलको म्यान अफ दि म्याच बन्दै नगद रु. ५००० रुपैयाँ प्राप्त गरेका छन्।
शुक्रबार प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आयोजक गोल्डेन स्टार युथ क्लब र नाइजेरियाको जस्ट जोन एफ.सी दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।