पोखरा । मोफसलको प्रतिष्ठित मध्ये एक २५औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि ऐतिहासिक रुपमा आयोजक सहारा क्लब, पोखराले जितेको छ । अन्तिमपटक वि.सं. २०७० सालमा यो उपाधि जितेको सहाराले एक दशकपछि फेरि ऐतिहासिक रुपमा विजेता बन्न सफल भएको हो ।
शनिबार सम्पन्न फाइनलमा सहाराले जावलाखेल युथ क्लब, ललितपुरलाई २–० ले हराउँदै उपाधि उचाल्यो । सहाराको जितमा खेलको २५औं मिनटमा मुकुन्द कुमार निउरेले पहिलो गोल गर्दा ७३औं मिनटमा टाए डेनियल बडारुले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
विजेता बनेको सहाराले उपाधिसहित नगद १४ लाख १ रुपैयाँ हात पार्दा उपविजेता बनेको जावलाखेलले ७ लाख १ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझायो । सहाराका कप्तान सुशिल लामा फाइनल खेलको म्यान अफ दि म्याच बने ।
त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक सहाराका टिकेन्द्र थापा बन्दा उत्कृष्ट डिफेन्डर पनि सहारा कै टाय डेनियल चुनिए । त्यस्तै उत्कृष्ट मिडफिल्डर जावलाखेलका बौबकर सिसोखो बन्दा उत्कृष्ट फरवार्ड जावलाखेलका धर्वेन्द्र कुँवर बने । त्यसैगरी उत्कृष्ट गोलरक्षक सहाराका सुनिल राना मगर चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार प्लानिङ ब्वाईजका पापा आइबु केवेले हात पारे । उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार र ट्रफी हात पारे ।
पाहुना टोली आभा फुटबल क्लब, उज्वेकिस्तान फेयर प्ले टिम बन्यो । त्यस्तै प्रतियोगिताको उदियमान खेलाडी र सर्वश्रेष्ठ खेलाडी सहारा क्लबका मुकुन्द कुमार निउरे घोषित भए । उनले त्यसवापत एक थान स्कुटर हात पारे ।