News मोरङ: सनराइज युनाइटेड खुला नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन
गोलनेपाल

सिद्धार्थ एफसी लेटाङ, मोरङको आयोजनामा सम्पन्न खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सनराइज युनाइटेड क्लबले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा बेलबारी एफसीलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै सनराइजले उपाधि उचालेको हो । निर्धारित समयमा दुबै टिमले १-१ गोलको बराबरी खेलेका थिए । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा ४६ औं मिनेटमा बेलबारीका विवेक पौडेलले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ६१ औं मिनेटमा बिक्रम धिमालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकिएको थियो । टाइब्रेकरमा उत्कृष्ट बचाउ गर्दै सनराइजलाई च्याम्पियन बनाउने गोलकिपर सौरभ बराल म्यान अफ द म्याच घोषित भए ।

विजेता सनराइजले उपाधि ट्रफी सहित रु ४० हजार र उपविजेता बेलबारीले ट्रफी सहित रु २० हजार प्राप्त गरे ।

विधागत उत्कृष्ट तर्फ बेलबारीका छिरिङ तामाङ उत्कृष्ट गोलकिपर, सनराइजका सुन्दर लिम्बू उत्कृष्ट डिफेन्डर, बेलबारीका मौसम लिम्बू उत्कृष्ट मिडफिल्डर र बेलबारीकै किरन लिम्बू उत्कृष्ट फरवार्ड घोषित हुँदै जनही रू २ हजार र ट्रफी प्राप्त गरे ।

त्यस्तै सनराइजका वर्तमान राई प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी र रू ३ हजार प्राप्त गरे । माघ २४ गतेबाट सुरू प्रतियोगिता सिद्धार्थ एफसीको अक्षयकोष स्थापनाका लागि आयोजना गरिएको हो ।

प्रतियोगिता सम्पन्न गर्न लेटाङ नगरपालिका तथा वडा नं ४ कार्यालयसँगै विभिन्न संघसंस्था तथा खेलप्रेमी व्यक्तिहरूले सहयोग गरेको आयोजकले जनाएको छ ।

From Raju Gautam

Post Comments