बुटवल । देवीनगर युवा क्लब, बुटवल–११, रुपन्देहीको आयोजनामा सम्पन्न स्व. सुशिल चौधरी स्मृति डिवाइसी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि नबिन औद्योगिक कदर बहादुर रीता मावि, बुटवलले जितेको छ ।
आइतबार सम्पन्न फाइनलमा नबिन औद्योगिकले आयोजक देवीनगर युवा क्लब (डिवाइसी) लाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि जित्न सफल भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा नबिन औद्योगिक विजयी बनेको हो ।
विजेता बनेको नबिन औद्योगिकले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता देवीनगर युवा क्लबले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विद्यागततर्फ नबिन औद्योगिकका विप्लव गुरुङ फाइनल खेलको म्यान अफ दि म्याच र उत्कृष्ट गोलरक्षक । त्यस्तै देवीनगरका कप्तान दर्शन बिकले सर्वाधिक गोलकर्ताको पुरस्कार पाउँदा नविन औद्यागिक कै समिर किसन सर्वश्रेष्ठ खेलाडी घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी आशा चौधरी, आयोजक क्लबका अध्यक्ष नबिन सारु मगर, खेल संयोजक सन्तोष शाही, खेल व्यवस्थापक मिन सारु गिरी लगायतले पुरस्कृत गरेका थिए ।