सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा आयोजना हुन लागेको पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप-२०८२ को औपचारिक घोषणा गरिएको छ । विराट भेट्रान क्लबद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे विस्तृत जानकारी सार्वजनिक गरिएको हो ।
सुन्दरहरैँचा-१२ स्थित सिद्धेश्वर मन्दिरको सभाहलमा सम्पन्न पत्रकार सम्मेलन भएको थियो । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा आयोजकले प्रतियोगितालाई यस पटक अझ भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको जनाएको छ ।
अघिल्ला चार संस्करणहरूमा नेपाल तथा भारतका प्रतिष्ठित टोलीहरूको सहभागिता, हजारौँ दर्शकको उपस्थिति र भव्य व्यवस्थापनले प्रतियोगिताको लोकप्रियता प्रमाणित गरिसकेको छ । प्रतियोगितामा आयोजक विराट भेट्रान क्लब सहित झापा, धनकुटा, भोजपुर, तेह्रथुम, मोरङ, सुनसरी र भारतको दार्जिलिङका टोलीहरू गरी आठ टिमको सहभागिता रहनेछ । नकआउट प्रणालीमा सञ्चालन हुने खेलहरू दैनिक दिउँसो १ बजेदेखि सुरु हुनेछन् ।