News शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
सुरज राना मगर

शिवराज । शिवगढी स्र्पोटिङ क्लब र ग्रीन भिजन युथ क्लब कपिलवस्तुको शिवराज नगरपालिकामा जारी दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोलीहरु बनेका छन् ।

शनिबार भएको दिनको पहिलो खेल र तेस्रो क्वाटरफाइनलमा शिवगढी स्र्पोटिङले सुर्यमुखी युथ क्लबलाई २–० ले हरायो । शिवगढी स्र्पोटिङको जितमा निराजन क्षेत्री र रोशन थापाले गोल गरे । खेलमा शिवगढी स्र्पोटिङका आशिष पुन प्लेयर अफ दि म्याच बने ।

त्यस्तै दिनको दोस्रो खेल तथा चौथो क्वाटरफाइनलमा ग्रीन भिजनले द ब्राईट युथ क्लबलाई १–० को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनायो । ग्रीन भिजनको जितमा सुजन रानाले एक मात्र निर्णायक गोल गरे । खेलको प्लेयर अफ दि म्याच निर्णायक गोलकर्ता सुजन राना नै चुनिए ।

प्रतियोगिता अन्तर्गत चेत्र १५ गते आइतबार दुवै सेमिफाइनल खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा शिवगढी स्र्पोटिङ युथ क्लब र ग्रीन भिजन युथ क्लब भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा आयोजक शिवशक्ति युवा क्लब र जागृति युथ क्लब भिड्ने खेल संयोजक अर्जुन शर्माले जानकारी दिए ।

शिवशक्ति युवा क्लब, शिवराज नगरपालिका–१, कलौनी, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत्र १७ गतेका दिन हुनेछ ।

 

 

Post Comments