News अमित नायक बन्दा शिसौली सेमिफाइनलमा
गोलनेपाल

इटहरी । शिसौली फुटबल क्लब, बेलबारी, सुनसरीमा जारी तेस्रो पंचायन गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको तेस्रो क्वाटरफाइनलमा शिसौलीले तालतलैया फुटबल क्लब, इटहरीलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बनेको हो ।

शिसौलीको जितमा अमित मिश्रले दुवै गोल गरे । उता पराजित तालतलैयाका लागि भने सिजल राईले गोल गरेका थिए । खेलमा टोलीका लागि नायक बनेका शिसौलीका अमित मिश्र प्लेयर अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत चैत्र १८ गते बुधबारको चौथो क्वाटरफाइनल खेल राष्ट्रिय जागृति क्लब, इटहरी र पंचायन फुटबल क्लब, रामधुनी (रातो) बीच हुने आयोजकले जानकारी दियो ।

पंचायन फुटबल क्लब, रामधुनी–७, पंचायन, सुनसरीको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,३१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ८१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।

Post Comments