News तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
गोलनेपाल

साँघु । मैवाखोला गाउँपालिका वडा नं.-३ साँघु ताप्लेजुङमा जलजले क्लबले आयोजना गरेको विशेष महाशिवरात्री मेला तथा पुरुष फुटबल प्रतियोगिता सनिबार भव्यताका साथ सम्पन्न भएको छ।

उपाधिका लागि शनिबार म्याङ्लुङ स्पोर्टिङ तेह्रथुम र साँगुरीगढी धनकुटा प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा साँगुरीगढी धनकुटालाई दुईका विरुद्ध तीन गोलको साँघुरो नतिजामा पराजित गर्दै म्याङ्लुङ तेह्रथुमले उपाधी हात पार्न सफल भएको हो। तेह्रथुमको जितमा समीर राईले पहिलो गोल गर्दा धीरज लिम्बुले दोस्रो तथा डिम्पल भण्डारीले निर्णायक गोल गरेका हुन्।

उता पराजित भएको टोली साँगुरीगढी धनकुटाको तर्फबाट विकास परियार र प्रज्वल थापाले समान एक एक गोल फर्काएका हुन्। फाइनल खेलमा म्याङ्लुङ तेह्रथुमको जितका लागि निर्णायक गोल गरेका डिम्पल भण्डारी म्यान अफ दि म्याच चुनिँदै नगद रु.२००० सहित ट्रफी प्राप्त गरेका छन्।

व्यक्तिगत विधातर्फ पनि म्याङ्लुङलेकै वर्चस्व रहँदा प्रतियोगिताको उत्कृष्ट गोलकिपर प्रेम लिम्बू र प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी समिर लिम्बु बन्न सफल भए । सर्वाधिक गोलकर्ता भने धनकुटाका विकास परियार बन्न सफल भएका हुन। व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सम्पूर्ण खेलाडीहरूले समान ३/३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन्।

विजेता बनेसँगै म्याङ्लुङ स्पोर्टिङ तेह्रथुमले नगद रु. २,६१,१११ रुपैयाँ सहित आकर्षक ट्रफी प्राप्त गर्दा उपविजेता बनेको साँगुरीगढी धनकुटाले नगद रु.१,३१,१११ रुपैयाँमा चित्त बुझाएको छ।

 

Post Comments