हात्तीमुढा । शनिबारदेखि शुरु भएको प्रथम बुढीगंगा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा सलहेश युवा क्लब, सिराहाले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा सलहेशले आर.आई.एफसी, काठमाडौंलाई ४–३ को प्रतिस्पर्धात्मक अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । सलहेशको जितमा फोडे फोफनाले दुई गोल गर्दा रोमन भुजेल र अबायोमी फाकुन्लेले समान एक–एक गोल गरे । उता पराजित आर.आई.एफसीका लागि सोलोमनले दुई गोल गर्दा बिकु राईको नाममा एक गोल रह्यो ।
खेलमा सलहेशका फोडे फोफना प्लेयर अफ दि म्याच बने । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे । यो जितसँगै सलहेश सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र २२ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल रारा फुटबल क्लब, धनकुटा र चात्या सा फुटबल क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बुढीगंगा गाउँपालिका, हात्तीमुढा, मोरङका अध्यक्ष जित नारायण थापा मगरले गरेका थिए ।
बुढीगंगा गाउँपालिका, हात्तीमुढा, मोरङको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २७ गतेका दिन हुनेछ ।
