News रुपन्देहीबाट १९ खेलाडी छानिए (नामावलीसहित)
सुरज राना मगर

बुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी बर्षदेखि क्लबहरुसँग सहकार्य गरि एकेडेमी सञ्चालन गर्न यु–१३ खेलाडीहरु छनौट गर्ने सूचना जारी गरे बमोजिम रुपन्देही जिल्लामा सो छनौट कार्यक्रम सम्पन्न भएको छ ।

रुपन्देहीमा दुई चरणमा गरि छनौट कार्यक्रम सञ्चालन गरिएको थियो । पहिलो चरणमा रुपन्देहीका फरक स्थानहरुमा यु–१३ खेलाडीहरु छनौट गरि दोस्रो चरणको छनौट बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको थियो ।

जसअनुसार रुपन्देहीबाट कुल १९ खेलाडीहरु छनौट भएको एन्फा टेक्निकल सेन्टरका निर्देशक बुद्धि बहादुर गुरुङ्गले जानकारी दिए । खेलाडी छनौट कार्यक्रममा एएफसी ए लाईसेन्स प्रशिक्षक सल्यान खड्गी, प्रशिक्षकहरु पुकार गहतराज, दिलिप क्षेत्रीले छनौटकर्ताको भूमिका निर्वाह गरेका थिए ।

छनौट कार्यक्रम पश्चात् बोल्दै प्रशिक्षकद्वय सल्यान खड्गी र पुकार गहतराजले छनौटमा परेका खेलाडीहरुले अन्तिम चरणसम्म छनौटका लागि थप मेहनत र अभ्यास गर्न सुझाए । अब जिल्लाबाट छनौट भएका खेलाडीहरुले प्रदेश छनौट कार्यक्रममा सहभागिता जनाउने प्रशिक्षक खड्गीले बताए । साथै प्रदेश छनौट कार्यक्रमको मिति र स्थान एन्फाको केन्द्रिय कार्यालय पछि घोषणा गर्ने समेत उनले बताए ।

सो अवसरमा रुपन्देही जिल्ला फुटबल संघका सचिव शंकर मल्लाह, कोषाध्यक्ष गोपीराम पुन, एएफसी ए लाईसेन्स प्रशिक्षक यम प्रसाद गुरुङ लगायत छनौट कार्यक्रममा सहभागि बालकहरुको अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।

यस्ता छन् छनौटमा परेका खेलाडीहरुको नामावलीः

आयुष रिजाल (गोलरक्षक), सिशिर पराजुली (गोलरक्षक), सुजल पौडेल, प्रशान्त पुन, बिबेक अधिकारी, अनिश तामाङ, अंगद बहादुर थापा, रमित नामजाली मगर, पुजन गुरुङ्ग, अरुन कुमार गुप्ता, विश्व केसी, अर्जुन पुन, कपिल बिक, बिक्की थापा, मिन बहादुर अधिकारी, याम बहादुर कामु, करन मोहम्मद, इन्द्र भण्डारी, युनिश केसी

Post Comments