News लिग उपाधि नजिक एपिएफ
गोलनेपाल

काठमाडौं । जारी राष्ट्रिय महिला लिगको शुरुवातबाटै शानदार प्रदर्शन गर्दै अपराजित रहेको सशस्त्र प्रहरीको एपिएफ क्लब लिग उपाधि नजिक पुगेको छ । सोमबार भएको खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लब माथि २–१ को जित निकाल्यो ।

यो जितसँगै एपिएफ लिग उपाधि भन्दा एक जित मात्र टाढा रहेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यद्यपि दोस्रो हाफको ६९औं मिनटमा पुलिसकी घिम कुमारी गुरुङले आत्मघाती गोल गर्न पुग्दा एपिएफले खेलमा अग्रता बनाएको थियो ।

तर ७५औं मिनटमा अमृता जैसीले पुलिसका लागि बराबरी गोल फर्काउन सफल भएकी थिईन् । खेल रोमाञ्चक बराबरीतर्फ लम्किरहेकै बेला रबिना गोलेले ८६औं मिनटमा एपिएफका लागि निर्णायक गोल गर्दै टोलीलाई जित दिलाउन सफल भएकी थिईन् ।

यो जितसँगै दश खेलाबाट शतप्रतिशत जितका साथ ३० अंक जोड्दै एपिएफ लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । उता पराजित पुलिस भने १४ अंकका साथ चौथो स्थानमा छ ।

वालिङलाई धक्का

लिगतर्फ सोमबार नै भएको अर्को खेलमा वालिङ नगरपालिका, स्याङ्जाको तेस्रो स्थानमा रहेर लिगको समापन गर्ने योजनामाथि धक्का लागेको छ । बिराटनगर महानगरपालिका, मोरङसँग १–० ले पराजित हुन पुगेपछि वालिङको त्यो योजनामाथि धक्का लागेको हो ।

खेलमा बिराटनगरका लागि ३५औं मिनटमा आशा कुमारीले एक मात्र निर्णायक गोल गरिन् । यो जितसँगै बिराटनगर ११ खेलबाट १६ अंक जोड्दै लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उता पराजित वालिङ भने १४ अंकका साथ चौथो स्थानमा छ ।

Post Comments