News एन्फा लिगः पर्सा र मनकामना सेमिफाइनलमा
गोलनेपाल

चन्द्रपुर । पर्सा फुटबल क्लब, पर्सा र मनकामना युवा क्लब, रौतहट जारी चन्द्रपुर मेयर प्रदेश नम्बर २ एन्फा लिगको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ए तर्फको अन्तिम खेलमा पर्साले मौवा देवी युवा क्लब, बारासँग १–१ को बराबरी खेल्दै समग्रमा तीन खेलबाट ४ अंक जोड्दै समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । त्यस्तै अपराजित मनकामना युवा क्लब भने ९ अंकका साथ समूह विजेताका रुपमा सेमिफाइनलमा यसअघि नै प्रवेश गरिसकेको छ ।

त्यसअघि समूह ए को अन्तिम खेलमा मौवा देवीका लागि ८१औं मिनटमा मनि चौधरीले खेलमा अग्रता दिलाएका थिए । तर नाटकीय पूनःरागमन गरेको पर्साका लागि ८७औं मिनटमा सुजन डंगोलले बराबरी गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच मौवा युवा क्लबका चन्दन महतो घोषित भए ।

प्रतियोगिता अन्तरगत फागुन ३ गते सोमबार दुई खेलहरु हुँदैछन् । समूह बी तर्फका अन्तिम दुई खेलहरु मध्ये पहिलो खेलमा यज्ञ भुमि युवा समाज, धनुषा र बेङखडी युवा क्लब, महोत्तरी भिड्ने छन् भने दोस्रो खेलमा हिम कस्तुरी युवा क्लब, सिराहा र युनिभर्सल युथ क्लब, सर्लाही आमने सामने हुने छन् ।

 

 

Post Comments