बुटवल । झरना स्पोर्टस क्लब, कुञ्जलापुर रुपन्देहीमा जारी स्व. शहिद प्रचण्ड थैव स्मृति सौभाग्य गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको चौथो क्वाटरफाइनलमा झरनाले योङ ब्वाईज फुटबल क्लब, देवदहलाई ३–१ को अन्तरले हराउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
बुटवल–७, दीपनगर स्थित सिद्धेश्वरी खेलमैदानमा भएको खेलमा झरनाका लागि मनिष मगर, बिक्की चाम्लिङ राई र दिपेश घलेले गोल गरे । पराजित योङ ब्वाईजका लागि भने सागर कटुवालले एक मात्र गोल फर्काएका थिए । खेलमा झरनाका बिक्की चाम्लिङ राई म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत चैत्र २३ गते सोमबारको पहिलो क्वाटरफाइनल खेल देवदह ब्वाईज, रुपन्देही र हनामी बिएफसी, चितवनबीच हुने खेल संयोजक प्रकाश क्षेत्रीले जानकारी दिए ।
सौभाग्य युवा क्लब, बुटवल ७, दीपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ३० गतेका दिन हुनेछ ।