News कप्तान बिमलको दुई गोलसँगै खनाल ब्रदर्श फाइनलमा
सुरज राना मगर

सैनामैना । कप्तान बिमल राना एक्लैले दुई गोल गरेपछि खनाल ब्रदर्श जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न दोस्रो सेमिफाइनलतर्फ खनाल ब्रदर्शले फुलबारी गाईजको चुनौति ३–० ले पन्छाउँदै उपाधि नजिक पुगेको हो । सैनामैना–७ देवापार स्थित सरस्वती माविको खेलमैदानमा भएको खेलको ३४औं मिनटमा बिमल रानाले बक्स भित्रबाट गरेको गोलसँगै खनाल ब्रदर्शले खेलमा अग्रता बनाएको थियो ।

त्यस्तै खनाल ब्रदर्शका लागि दोस्रो गोल भने पहिलो हाफ कै इन्जुरी समयमा रन्जन बिष्टले गरे । बिष्टले बक्स नजिकैबाट गरेको प्रहार विपक्षी पोष्टको बाँया कुना च्याप्दै गोलमा परिणत भएको थियो ।

त्यसैगरी खनाल ब्रदर्शका लागि तेस्रो तथा अन्तिम गोल भने कप्तान बिमल रानाले नै ७४औं मिनटमा गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । खेलको म्यान अफ द म्याच पनि खनालका कप्तान तथा दुई गोलकर्ता बिमल राना नै घोषित भए ।

खनालले फाइनलमा अब फर्साटिकर युवा क्लबसँग फागुन ५ गतेका दिन उपाधिका लागि भिड्नेछ । रोचक कुरा त दुवै टोली फर्साटिकर कै हुन् । फर्साटिकरले आइतबार मात्र विश्व शान्ति युवा क्लबलाई हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।

जनप्रिय स्र्पोटिङ क्लब, सैनामैना–७ देवापारको आयोजना तथा सैनामैना नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त आयोजक क्लबका अध्यक्ष किशोर रानाले बताए ।

Post Comments