बिराटनगर । शनिबारदेखि मोरङमा रात्रीकालिन रुपमा शुरु भएको नोबल मेडिकल कलेज ३८औं बिराट गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा झापा ११ फुटबल क्लब, झापाले विजयी शुरुवात गरेको छ ।
शहिद मैदानमा भएको उद्घाटन खेलमा झापाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । झापाका लागि दुवै गोल फागुराम थारुले गर्दा आर्मीका लागि नबिन लामाले गोल फर्काएका थिए । खेलमा झापाका निर्णायक दुई गोलकर्ता फागुराम थारु नै प्लेयर अफ दि म्याच बने ।
त्यो जितसँगै झापा ११ प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र २९ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड क्लब, ललितपुर र एपिएफ फुटबल क्लब, काठमाडौंबीच हुनेछ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका वातावरण तथा पर्यटन मन्त्री भिम आचार्य लगायतले गरेका थिए ।
बिराट गोल्डकप फुटबल ट्रस्ट, बिराटनगर, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ५ गतेका दिन हुनेछ ।