News पाल्पाले युनाइटेडलाई प्रथम आमन्त्रित जरायोटार कपको उपाधी
गोलनेपाल

जरायोटार । अरुण गाउँपालिका वडा नम्बर - ६ जरायोटार भोजपुर स्थित पाल्पाले खेलमैदानमा जरायोटार खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको प्रथम आमन्त्रित जरायोटार (माङिदिङग्) कप नकआउट पुरुष फुटबल प्रतियोगिताको फाइनल आइतबार भव्यताका साथ सम्पन्न भएको छ।

उपाधिका लागि पाल्पाले युनाइटेड भोजपुर र सञ्जीवनी फुटबल क्लब धनकुटा पाल्पाले युनाइटेडको घरेलु मैदानमा प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा पाहुना टोली धनकुटालाई २–० गोलन्तरले पराजित गर्दै पाल्पाले युनाइटेडले उपाधि रक्षा गरेको हो। खेलको अन्त्यतिर निवास फुयालले शानदार दुई गोल गर्दै पाल्पाले भोजपुरको जित सुनिश्चित गराएका हुन्। साथै उनी उक्त खेलको म्यान अफ दि म्याच बन्दै रु.२००० सहित मेडल प्राप्त गरेका छन्।

व्यक्तिगत विधातर्फ पाल्पाले युनाइटेडले वर्चस्व कायम गर्दा प्रतियोगिताको उत्कृष्ट गोलरक्षक विपुल मगर, उत्कृष्ट डिफेन्डर दुर्गाहाङ राई साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सौर्य राउत बन्न सफल भए। प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर भने सञ्जीवनी फुटबल क्लब धनकुटाका समिर राई बनेका छन्। व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीहरूले जनही ५/५ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरेका छन्।

त्यसैगरी यसै कार्यक्रमकाबीच अरुण गाउँपालिकाका पछिल्ला विभिन्न वर्षका उत्कृष्ट वर्ष खेलाडीहरूलाई पनि ट्र्याकसुट सहित सम्मान गरिएको छ। २०७९/८०/८१/८२ सालका उत्कृष्ट वर्ष खेलाडीहरू क्रमश: रिकेश राई, विनोद राई,दुर्गाहाङ राई र ताराहाङ राई रहेका छन्।

Post Comments