कटारी । चात्या सा फुटबल क्लब, झापा उदयपुरमा जारी छैठौं कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलमा चात्या साले च्याम्पियन ब्वाईज क्लब, काठमाडौंलाई ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । चात्या साको जितमा मिलन राई, मिलन लिम्बु र फागुराम थारुले गोल गरे भने च्याम्पियन ब्वाईजका लागि सबिन राई र दगेन राईले गोल गरेका थिए । खेलमा चात्या साका मिलन राई म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत बैशाख १ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल केराबारी फुटबल क्लब, मोरङ र सलहेश युवा क्लब, सिरहाबीच हुने आयोजकले जानकारी दियो ।
नगर खेलकुद विकास समिति, कटारी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल बैशाख ५ गतेका दिन हुनेछ ।