News बाँकेमा खजुरा गोल्डकप शुरु, गोर्खा ब्वाईजको विजयी शुरुवात
गोलनेपाल

खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ डीगाउँस्थित मिनी रंगशालामा चैत्र ३० गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन हुने एमटी एरिना प्रथम खजुरा गोल्डकप–२०८२ को उद्घाटन खेलमा गोर्खा ब्याइज स्पोर्ट्स क्लब, बुटवल (रुपन्देही) ले संकटा फुटबल क्लब, काठमाडौंलाई १–० ले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको छ।

खेलको पहिलो हाफमै कप्तान नीराजन खत्रीले १३औँ मिनेटमा गरेको एकमात्र निर्णायक गोल नै खेलको परिणाम बन्न पुग्यो। गोर्खा ब्याइजले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै संकटा माथि दबाब सिर्जना गरेको थियो। ३५औँ मिनेटमा गोर्खा ब्याइजले पेनाल्टीको सुनौलो अवसर पाए पनि सुजित बुढाथोकीको प्रहार संकटा क्लबका गोलरक्षक सुजन बस्नेतले शानदार बचाउ गर्दै गोल हुन दिएनन्। उक्त पेनाल्टी आशिष रानाले जितेका थिए।

दोस्रो हाफमा संकटा खेलमा फर्किने प्रयासमा देखिए पनि गोर्खा ब्याइजको सुदृढ डिफेन्स तोड्न सकेन र खेल १–० मै समाप्त भयो। प्रतियोगिताको औपचारिक उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकले गरेका थिए।

प्रतियोगिताको विजेताले नगद रु. ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरिनेछ ।

न्यू डाँफे स्पोर्ट्स क्लब, खजुरा–बाँकेको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता खेलकुदमार्फत युवालाई सकारात्मक दिशामा प्रेरित गर्ने लक्ष्यसहित आयोजना गरिएको हो।

Post Comments