News मकवानपुर परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश
गोलनेपाल

सिमरा: एन्फा मकवानपुर पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। परवानीपुर खेल मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा नव जनजागृति युवा क्लब सिमरालाई ३-० ले पराजित गर्दै मकवानपुरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मकवानपुरले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेको थियो। खेलको ५२औं मिनेटमा सुजन गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाए। ५७औं मिनेटमा निमेश मोक्तानले गोल थप्दै अग्रता दोब्बर बनाए। खेलको ६७औं मिनेटमा रिजन लामाले तेस्रो गोल गरेपछि मकवानपुर सहज जिततर्फ अघि बढेको थियो।

नव जनजागृति युवा क्लबले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका निमेश ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई समाजसेवी नागमणी उपाध्यायले दुई हजार एक सय नगदसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार आयोजक शक्ति युवा क्लब र वीरगन्ज युनाइटेड क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ। मकवानपुरले भने दोस्रो सेमिफाइनलमा निजगढसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments