News रुपन्देहीमा दोस्रो लखन कप शुरु, शिवनगरको उत्कृष्ट शुरुवात
सुरज राना मगर

बुटवल । ‘सामाजिक कार्यमा सहभागिता, युवाहरुको प्रतिवद्धता’ भन्ने मूल नाराका साथ स्थापित लखन ब्रदर्श युवा क्लब, बुटवल ८, सुख्खानगर, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

बुटवल १०, रामनगर स्थित रामनगर खेलमैदानमा भएका् उद्घाटन खेलमा शिवनगर युवा परिवार, बुटवल ८, शिवनगरले विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा शिवनगरले दश खेलाडीमा खुम्चिएको सह–आयोजक सयपत्री युवा क्लब, बुटवल १०, रामनगरलाई ३–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

खेलको शुरुवाततिरै सयपत्रीका नियमित गोलरक्षक बिशाल घर्तीले रातो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली दश खेलाडीमा खुम्चिएको थियो । जसको फाईदा शिवनगरले उठायो । शिवनगरको जितमा कप्तान सुजल चिडी मगरले दुई गोल गरे भने थप एक गोल बिक्की थापा मगरले गरे । खेलमा दुई गोल गरेका शिवनगरका कप्तान सुजल चिडी नै म्यान अफ द म्याच बने ।

यो जितसँगै शिवनगर क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख १२ गते शनिबारको खेल आयोजक लखन ब्रदर्श युवा क्लब, बुटवल ८, सुख्खानगर र तिलोत्तमा ११ फुटबल क्लब, भूपूसैनिक बीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, आयोजक क्लबका अध्यक्ष सुदिप क्षेत्री, उपाध्यक्ष निरन्जन पन्त लगायतले संयुक्त रुपमा गरेका थिए ।

आउँदो बैशाख २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् ।

 

Post Comments