News मकवानपुरमा शुरु आठौं बागमती गोल्डकपमा बागमती युवा क्लबको विजयी शुरुवात
गोलनेपाल

झुरझुरे । बिहीबारदेखि शुरु भएको आठौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा बागमती युवा क्लब, सर्लाहीले उत्कृष्ट शुरुवात गरेको छ ।

उद्घाटन खेलमा बागमतीले घरेलु टोली बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको टोलीलाई ३–० ले हराउँदै विजयी शुरुवात गरेको हो । बागमती युवा क्लबको जितमा सुजन गुरुङ, राजु लो तामाङ र अनिश महर्जनले गोल गरे । खेलमा बागमती युवा क्लब कै सुजन गुरुङ म्यान अफ द म्याच बने ।

यो जितसँगै बागमती युवा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख १८ गते शुक्रबारको खेल नव जन जागृति क्लब, सिमरा, बारा र त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमती गाउँपालिका, मकवानपुरका अध्यक्ष सर्केश घलान, बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरका अध्यक्ष रहरसिंह थिङ लगायतले संयुक्त रुपमा गरेका थिए ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल बैशाख २६ गतेका दिन हुनेछ ।

 

Post Comments