तानसेन । सहज जित हात पार्दै मोन्स्टर गाईज, सुनवल पाल्पामा जारी चौथो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न पहिलो क्वाटरफाइनलमा मोन्स्टरले सुर्यमुखी फुटबल क्लब, रुपन्देहीलाई ५–० को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । मोन्स्टरको जितमा अंकित रासकोटी र रोशन थापाले समान दुई–दुई गोल गर्दा थप एक गोल तनिश गुरुङले गरे । खेलमा मोन्स्टर कै अंकित रासकोटी म्यान अफ द म्याच बने ।
प्रतियोगिता अन्तर्गत बैशाख २० गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल न्यु हिमाली फुटबल क्लब, पाल्पा र लिस्नु युवा क्लब, रुपन्देहीबीच हुने आयोजकले जानकारी दियो ।
न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २६ गतेका दिन हुनेछ ।