टीकापुर । कैलालीको टीकापुरस्थित वीरेन्द्र खेलमैदानमा जारी “युथ अफ टीकापुर प्रथम महिला खुला फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत पहिलो सेमिफाइनल खेलमा आयोजक युथ अफ टीकापुरले भजनी क्लब, भजनी–कैलालीलाई २–० गोल अन्तरले पराजित गर्दै भव्य रूपमा फाइनलमा प्रवेश गरेको छ।
पश्चिम नेपालका दुई बलिया टोलीबीच भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक टोली सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको थियो। पहिलो हाफको २०औं मिनेटमा सुनिता सुनारले शानदार गोल गर्दै युथ अफ टीकापुरलाई अग्रता दिलाइन्। उक्त गोलपछि आयोजक टोलीले खेलमा पकड जमाउँदै भजनी क्लबलाई दबाबमा राख्यो।
दोस्रो हाफमा पनि युथ अफ टीकापुरले उत्कृष्ट तालमेल र आक्रामक खेललाई निरन्तरता दियो। खेलको ४०औं मिनेटमा कप्तान प्रतीक्ष्या ठाकुरीले अर्को महत्वपूर्ण गोल थप्दै टोलीको जीत सुनिश्चित गरिन्। लगातार उत्कृष्ट प्रदर्शन गरिरहेकी प्रतीक्ष्याले प्रतियोगितामा दुई खेलबाट चार गोल पूरा गर्दै शीर्ष गोलकर्ताको सूचीमा पहिलो स्थान कायम गरेकी छन्।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण पहिलो गोल गरेकी सुनिता सुनार “प्लेयर अफ द म्याच” घोषित भइन्।
यस जीतसँगै आयोजक युथ अफ टीकापुर प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। अब टोलीले उपाधिका लागि फाइनलमा १४ जीआर एफसी टीकापुर र सैपाल युथ क्लब, शान्तिटोल–कैलालीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त अन्तिम सेमिफाइनल खेल शनिबार दिउँसो ३:३० बजे वीरेन्द्र खेलमैदानमा सञ्चालन हुनेछ।
महिला खेलाडीहरूको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा महिला फुटबलको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा पश्चिम नेपालका विभिन्न जिल्लाका टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिताको आयोजना युथ अफ टीकापुरले गरेको हो।
प्रतियोगिताको विजेताले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिताको उद्घाटन वैशाख २७ गते सम्पन्न भएको हो भने फाइनल खेल जेठ ३ गते दिउँसो ३:३० बजे सञ्चालन हुनेछ।
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने
- सैपाल युथ क्लबको शानदार जितसँगै प्रतियोगितामा नयाँ अपडेट, १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित