कैलालीको टीकापुरस्थित वीरेन्द्र खेलमैदानमा सम्पन्न “युथ अफ टीकापुर प्रथम महिला खुला फुटबल प्रतियोगिता–२०८३” को उपाधि आयोजक युथ अफ टीकापुरले जितेको छ। अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा सैपाल युथ क्लब, गोदावरी–कैलालीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक टोली ऐतिहासिक रूपमा पहिलो संस्करणको च्याम्पियन बनेको हो।
फाइनल खेलको पहिलो हाफ दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि खेलको २७औं मिनेटमा सजिना स्याङ्ताङले गरेको शानदार गोल नै खेलको निर्णायक गोल बन्यो। उक्त गोलपछि आयोजक टोलीले खेलमा नियन्त्रण कायम राख्दै सैपाल युथ क्लबको आक्रमणलाई रोक्न सफल भयो।
दोस्रो हाफमा सैपाल युथ क्लबले बराबरी गोलका लागि लगातार दबाब सिर्जना गरे पनि युथ अफ टीकापुरको संगठित रक्षापंक्ति र उत्कृष्ट गोलकिपिङका कारण गोल गर्न सकेन। निर्धारित समयसम्म थप गोल हुन नसक्दा आयोजक टोली १–० ले विजयी बन्दै च्याम्पियन बन्न सफल भयो।
निर्णायक गोल गरेकी युथ अफ टीकापुरकी सजिना स्याङ्ताङ “प्लेयर अफ द म्याच” घोषित भइन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा अफिसियलहरूलाई व्यक्तिगत विधातर्फ पनि सम्मान गरिएको थियो। युथ अफ टीकापुरकी सुजाता तामाङ “उत्कृष्ट गोलरक्षक” घोषित भइन् भने सैपाल युथ क्लबकी कप्तान सरिता नाथ “उत्कृष्ट डिफेन्डर” चुनिइन्। त्यस्तै सैपाल युथ क्लबकी अनु राई “उत्कृष्ट मिडफिल्डर” घोषित भइन्।
आयोजक टोलीकी कप्तान प्रतीक्षा ठकुरी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्न सफल भइन् भने युथ अफ टीकापुरकी अनु माझी “प्लेयर अफ द टुर्नामेन्ट” घोषित भइन्। युथ अफ टीकापुरका रोशन खत्री “उत्कृष्ट प्रशिक्षक” घोषित भए।
महिला खेलाडीहरूको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा महिला फुटबलको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा पश्चिम नेपालका विभिन्न जिल्लाका टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको आयोजना युथ अफ टीकापुरले गरेको हो।
प्रतियोगिताको विजेता युथ अफ टीकापुरले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता सैपाल युथ क्लबले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने
- सैपाल युथ क्लबको शानदार जितसँगै प्रतियोगितामा नयाँ अपडेट, १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित