News वीरेन्द्रनगरमा जेठ १५ देखि “प्रथम मेयरकप फुटबल प्रतियोगिता–२०८३” हुने
गोलनेपाल

वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा “कर्णाली प्रदेश स्तरीय प्रथम मेयरकप फुटबल प्रतियोगिता–२०८३” भव्य रूपमा सञ्चालन हुने भएको छ। वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग, कर्णाली प्रदेश फुटबल संघको आयोजन तथा सुर्खेत जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता २०८३ साल जेठ १५ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ।

प्रदेश फुटबलको विकास, स्थानीय प्रतिभाको पहिचान तथा युवालाई खेलकुदमार्फत अनुशासित र सिर्जनशील बनाउने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका टोलीहरू सहभागी हुनेछन्। साथै विभिन्न गाउँपालिकाका टोलीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद रु. ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. २ लाख पुरस्कार हात पार्नेछ। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायतलाई समेत विशेष पुरस्कार प्रदान गरिने तयारी गरिएको छ।

प्रतियोगितालाई सभ्य, व्यवस्थित र भव्य बनाउन आयोजकले विभिन्न उप-समितिहरू गठन गर्दै तयारीलाई तीव्र बनाएको छ। आर्थिक व्यवस्थापन समितिको संयोजकमा श्री गोपाल खड्का रहेका छन् भने सदस्यमा श्री सरद भण्डारी र श्री गणेश कार्की रहेका छन्। अनुशासन तथा अपिल समितिको जिम्मेवारी श्री सुन्दर पोख्रेललाई दिइएको छ।

यस्तै प्रचारप्रसार समितिको संयोजकमा श्री अग्नि वि.सी. रहेका छन् भने सदस्यमा श्री ललित जंग शाही र श्री खगेन्द्र मल्ल रहेका छन्। स्वास्थ्य समन्वय समितिको संयोजक श्री केशर रोकाय रहेका छन् भने होटल व्यवस्थापन समितिको नेतृत्व श्री भुपेन्द्र शाहीले गर्नेछन्।

सचिवालय व्यवस्थापन समितिको संयोजकमा श्री मदन बुढाथापा रहेका छन्। सदस्यहरूमा श्री विष्णु बुढाथापा, श्री राज के. खत्री, श्री बलराम तिवारी तथा श्री गणेशमान खनाल रहेका छन्।

Post Comments