News अन्तिम खेलमा पनि एपिएफकै वर्चश्व
गोलनेपाल

काठमाडौं । लिगको अन्तिम खेल खेल्नु अघि नै राष्ट्रिय महिला लिगको उपाधि जितेको सशस्त्र प्रहरीको एपिएफ क्लबले शुक्रबार आफ्नो त्यो अन्तिम खेल खेल्दा पनि आफ्नो वर्चश्वलाई कायम राख्यो ।

लिगमा शतप्रतिशत जित निकालेको एपिएफले अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबमाथि पनि ३–० को रवाफिलो जित हात पार्यो । शुक्रबार सम्पन्न खेलमा एपिएफका लागि खेलको ४५औं मिनटमा सरु लिम्बुले पहिलो गरिन् ।

दशरथ रंगशालामा भएको सो खेलमा अनिता केसीले ८६औं मिनटमा एपिएफको त्यो अग्रता दोब्बर पारिन् । त्यस्तै इन्जुरी समयमा सरु लिम्बुले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लिगमा आर्मीमाथि एपिएफको दोहोरो जित पनि सुनिश्चत गरिन् ।

यो जितसँगै १२ खेलबाट ३६ अंक जोडेको एपिएफ शिर्ष स्थानमा रहँदै विजेता बन्यो । र उपाधिसहित नगद १५ लाख हात पार्यो । त्यस्तै २६ अंकका साथ दोस्रो बनेको आर्मीले ८ लाख हात पार्यो ।

शुक्रबार नै भएको अर्को खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरमाथि १०–० को जित निकालेको नेपाल पुलिस क्लब १८ अंकका साथ तेस्रो बन्यो र ५ लाख हात पार्यो । त्यस्तै १७ अंक जोडेको वालिङले चौथो बन्दै ३ लाख हात पार्यो ।

त्यसैगरी १६ अंक जोडेको बिराटनगर महानगरपालिका पाँचौं स्थानमा रह्यो भने ९ अंकका साथ चन्द्रपुर नगरपालिका, रौतहट छैटौं स्थानमा रह्यो । अंकविहीन चौदण्डीगढी नगरपालिका, उदयपुर भने पुछारमा रहन पुग्यो ।

Post Comments