पक्लिहवा । रुपन्देही कै पुरानो मध्ये एक र सिद्धार्थनगर नगरपालिका कै प्रतिष्ठाका रुपमा रहेको ३१औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।
सिद्धार्थनगर–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको उद्घाटन खेलमा मोन्स्टर गाईज फुटबल क्लब, सुनवलले विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा मोन्स्टरले आयोजक माछापुच्छ्रे फुटबल क्लब, सिद्धार्थनगरलाई १–० ले हरायो ।
मोन्स्टरको जितमा आशिष रानाले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता आशिष नै खेलको म्यान अफ द म्याच चुनिए ।
यो जितसँगै मोन्स्टर सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत जेठ ७ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र देवदह ब्वाईज, देवदहबीच हुने खेल संयोजक रोहित थापाले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले गरेका थिए ।
माछापुच्छ्रे फुटबल क्लब, सिद्धार्थनगर–२, झण्डीबजार, रुपन्देहीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १२ गतेका दिन हुनेछ ।