धनकुटा । धनकुटामा जारी १८औँ शहिद भिमनारायण स्मृति गोल्डकप फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत दोस्रो सेमिफाइनलमा बेलबारी एफसी मोरङले शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको छ ।
धनकुटा बजारस्थित तल्लो टुडिखेलमा शुक्रबार सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै बेलबारी उपाधिनजिक पुगेको हो ।
बेलबारीको जितमा विदेशी खेलाडी सोलोमन किङ नायक बने । उनले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेपछि मैदानमा दर्शकको उत्साह झनै बढेको थियो ।
खेलको ‘प्लेयर अफ द म्याच’ समेत घोषित भएका सोलोमन किङले नगद रु ६ हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।
अब उपाधिका लागि बेलबारी एफसीले जेठ १६ गते शनिबार आयोजक भीम नारायण स्मृति प्रतिष्ठान धनकुटासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेललाई लिएर फुटबल प्रेमीहरूमा ठूलो उत्साह देखिएको छ ।
जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु ६ लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ३ लाखसहित ट्रफी हात पार्ने आयोजकले जनाएको छ ।