काठमाडौं । भारतमा जारी साफ महिला च्याम्पियनसिपतर्फ बिहीबार भुटान र बंगलादेशले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
समूह ए तर्फ आफ्नो पहिलो खेलमा नेपालसँग १–० ले पराजित भएको भुटानले बिहीबार आफ्नो अन्तिम तथा निर्णायक खेलमा श्रीलंकालाई ४–० ले हरायो । यो जितसँगै भुटानले सेमिफाइनल प्रवेशको सम्भावना कायम राखेको छ ।
अब समूह ए तर्फको अन्तिम खेलमा ३१ मईका दिन नेपाल र श्रीलंका भिड्ने छन् । यो खेलमा नेपाललाई बराबरी गरे पनि सेमिफाइनल पुग्न प्रर्याप्त बन्नेछ । साथै नेपालले बराबरी वा जित निकाले नेपालसँगै भुटान सेमिफाइनलमा प्रवेश गर्नेछ ।
उता समूह बी तर्फ आफ्नो पहिलो खेल खेलेको साविक विजेता बंगलादेशले माल्दिभ्समाथि ४–२ को जित हात पारेको छ । आफ्नो पहिलो खेलमा भारतसँग ११–० ले पराजित माल्दिभ्स लगातार दुई हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।
त्यस्तै पहिलो खेलमा जित हात पारेको बंगलादेश र भारत दुवै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् । अब ३१ मईका दिन भारत र बंगलादेश भिड्ने छन् । जुन खेलको नतिजाबाट समूह बी को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।