News उद्घाटन खेलमै वीरेन्द्रनगरको शानदार जीत
गोलनेपाल

बिरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुरु भएको कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३ को उद्घाटन खेलमा घरेलु टोली वीरेन्द्रनगरले सिमीकोट हुम्लालाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेल सुरु भएको पहिलो मिनेटमै भरत नागाले गोल गर्दै वीरेन्द्रनगरलाई शानदार सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफभरि उत्कृष्ट तालमेल र आक्रामक खेल प्रदर्शन गरेको वीरेन्द्रनगरले १–० को अग्रता कायम राख्यो।

दोस्रो हाफमा वीरेन्द्रनगरले खेलमाथिको नियन्त्रण अझ मजबुत बनायो। खेलको ६६औँ मिनेटमा निर्मल चौधरीले आकर्षक गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि सिमीकोट हुम्लाले खेलमा फर्कने प्रयास गर्दै ८२औँ मिनेटमा अनिश परियारमार्फत गोल फर्कायो।

तर अतिरिक्त समयको दोस्रो मिनेटमा सुरज थापाले थप गोल गर्दै वीरेन्द्रनगरको शानदार जीत पक्का गरे। प्रतिस्पर्धात्मक उद्घाटन खेल अन्ततः वीरेन्द्रनगरको पक्षमा ३–१ ले समाप्त भयो।

यस जीतसँगै वीरेन्द्रनगर क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेलको “प्लेयर अफ द म्याच” वीरेन्द्रनगरका पुरन श्रेष्ठ घोषित भए।

प्रतियोगिताको उद्घाटन समारोह कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालको अध्यक्षतामा सम्पन्न भएको थियो। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रमुख अतिथिका रूपमा प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।

कर्णाली प्रदेश फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिकाले संरक्षकको भूमिका निर्वाह गरेको छ भने जिल्ला फुटबल संघ सुर्खेतले प्राविधिक सहयोग गरिरहेको छ।

जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल जेठ २१ गते दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ७ विभिन्न विधामा जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। हरेक खेलको “प्लेयर अफ द म्याच” लाई नगद २ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था समेत गरिएको छ।

Post Comments