सिरहा । यहाँ सम्पन्न शहिद हेमनारायण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली सलहेश युवा क्लब, सिरहाले जितेको छ ।
शुक्रबार सम्पन्न फाइनलमा सलहेशले आरआईएफसी, काठमाडौंलाई २–० ले हराउँदै उपाधिमाथि आफ्नो कब्जा जमाउन सफल भएको हो । सलहेशको जितमा रोमन भुजेल र आदित्य शाक्यले गोल गरे ।
विजेता बनेको सलहेशले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता आरआइएफसीले १ लाख ५० हजारमा चित्त बुझाउन बाध्य बन्यो ।
सलहेशका निर्मल घिसिङ फाइनल खेलको म्यान अफ द म्याच बने । त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक सलहेश कै रेम्बो चौधरी बन्दा उत्कृष्ट डिफेन्डर पनि सलहेश कै सुशिल यादव चुनिए ।
त्यस्तै उत्कृष्ट मिडफिल्डर आरआइएफसीका उमेश कार्की बन्दा उदीयमान खेलाडी सलहेशका सागर मेस्तर बने । उत्कृष्ट फरवार्ड पनि सलहेश कै आदित्य शाक्य चुनिए । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि सलहेश कै रोशन पहाडी घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल, आयोजक सलहेश युवा क्लबका अध्यक्ष राजिप कुमार यादव लगायतले पुरस्कृत गरेका थिए ।