बिरेन्द्रनगर । कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत शनिबार सम्पन्न दुई प्रिक्वार्टरफाइनल खेलमा चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिका विजयी हुँदै प्रतियोगितामा आफ्नो प्रभावशाली उपस्थितिलाई थप मजबुत बनाएका छन्। कर्णाली प्रदेश रंगशाला, वीरेन्द्रनगर सुर्खेतमा भएका दुवै खेलमा दर्शकहरूले रोमाञ्चक प्रतिस्पर्धा, उत्कृष्ट प्रदर्शन र गोलको वर्षाको भरपुर आनन्द लिए।
बिहान सम्पन्न पहिलो प्रिक्वार्टरफाइनल खेलमा चौकुने गाउँपालिकाले गुर्भाकोट नगरपालिकामाथि ५–३ को शानदार जीत दर्ता गर्यो। खेलको ११औँ मिनेटमा अपिल ओलीले गोल गर्दै चौकुनेलाई अग्रता दिलाए भने २२औँ मिनेटमा सुदीप साउदले अर्को गोल थप्दै टोलीलाई २–० को अवस्थामा पुर्याए। २४औँ मिनेटमा विशाल घर्ती मगरले गुर्भाकोटका लागि गोल फर्काएपछि पहिलो हाफ २–१ को अवस्थामा समाप्त भयो।
दोस्रो हाफको सुरुमै ४१औँ मिनेटमा सुदीप साउदले व्यक्तिगत दोस्रो गोल गर्दै चौकुनेको अग्रता बढाए। त्यसपछि ६०औँ र ६२औँ मिनेटमा खगेन्द्र भट्टले लगातार दुई गोल गर्दै टोलीलाई ५–१ को बलियो अवस्थामा पुर्याए। खेलको अन्तिमतिर ड्यानियल रसाइली र अतिरिक्त समयको पहिलो मिनेटमा खगेन्द्र बि.के.ले गोल गर्दै गुर्भाकोटलाई खेलमा फर्काउने प्रयास गरे पनि चौकुनेले ५–३ को महत्वपूर्ण जीत सुरक्षित गर्यो। चौकुनेका गणेश पुमाली मगर उत्कृष्ट खेलाडी घोषित हुँदै “प्लेयर अफ द म्याच” बने।
शनिबार दिउँसो सम्पन्न दोस्रो प्रिक्वार्टरफाइनल खेलमा पञ्चपुरी नगरपालिका, सुर्खेतले रुकुम पश्चिममाथि ४–१ को प्रभावशाली जीत निकाल्यो। पञ्चपुरीका कप्तान धनसिंह बि.के.ले पहिलो हाफको २५औँ र २९औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए।
दोस्रो हाफको ५४औँ मिनेटमा रमेश बोहराले रुकुम पश्चिमका लागि गोल गर्दै अन्तर घटाए। तर त्यसको चार मिनेटपछि ५८औँ मिनेटमा धनसिंह बि.के.ले व्यक्तिगत तेस्रो गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे। ७३औँ मिनेटमा चिरन कार्कीले अर्को गोल थपेपछि पञ्चपुरीले ४–१ को सहज र प्रभावशाली जीत दर्ता गर्यो। ह्याट्रिक नायक धनसिंह बि.के. खेलको उत्कृष्ट खेलाडी घोषित भए।
कर्णाली प्रदेश फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगितालाई वीरेन्द्रनगर नगरपालिकाले संरक्षकका रूपमा साथ दिएको छ भने जिल्ला फुटबल संघ सुर्खेतले प्राविधिक सहयोग प्रदान गरिरहेको छ। प्रतियोगिताको उद्घाटन जेठ १५ गते कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालको अध्यक्षतामा सम्पन्न भएको थियो। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रमुख अतिथिका रूपमा प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो।
जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल जेठ २१ गते दिउँसो ३ बजे कर्णाली प्रदेश रंगशालामा हुने तय गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ७ विभिन्न विधामा जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलको “प्लेयर अफ द म्याच” लाई नगद २ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको छ।