वीरेन्द्रनगर । सोमबार कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप फुटबल अन्तर्गत सम्पन्न दुई क्वार्टरफाइनल खेलबाट वीरेन्द्रनगर, सुर्खेत र जुम्लाले शानदार जीतसहित सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। कर्णाली प्रदेश रंगशालामा सम्पन्न खेलहरूमा एकतर्फी प्रदर्शनदेखि रोमाञ्चक प्रतिस्पर्धासम्मका दृश्य देखिए।
बिहान सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा वीरेन्द्रनगर, सुर्खेतले बराहताल, सुर्खेतमाथि ६–० को फराकिलो जीत दर्ता गर्दै सेमिफाइनल यात्रा तय गर्यो। पहिलो हाफमा भूपेन्द्र राउतले ३७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयको चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै वीरेन्द्रनगरलाई २–० को अवस्थामा पुर्याए।
दोस्रो हाफमा वीरेन्द्रनगरले खेलमाथि पूर्ण नियन्त्रण कायम राख्यो। ६६औँ मिनेटमा विक्रम ओलीले गोल थपे भने ६८औँ मिनेटमा भूपेन्द्र राउतले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि ७५औँ र ७६औँ मिनेटमा भरत नागालले लगातार दुई गोल थपेपछि वीरेन्द्रनगरले ६–० को शानदार जीत सुनिश्चित गर्यो। ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेका भूपेन्द्र राउत खेलको प्लेयर अफ द म्याच घोषित भए।
सोमबार दिउँसो सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा चौकुने, सुर्खेत र जुम्लाबीच प्रतिस्पर्धात्मक खेल भएको थियो। खेलको २२औँ मिनेटमा जुम्लाका कप्तान योद्धा शाहीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफ १–० ले जुम्लाकै पक्षमा समाप्त भयो।
दोस्रो हाफको ६६औँ मिनेटमा चौकुनेका खगेन्द्र भाटले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। तर ७४औँ मिनेटमा धर्मेन्द्र कुँवरले पेनाल्टीमै गोल गर्दै जुम्लालाई पुनः अग्रता दिलाए। अन्तिम समयसम्म जुम्लाले अग्रता जोगाउँदै २–१ को महत्वपूर्ण जीत हात पार्यो र सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। उक्त गोलसँगै धर्मेन्द्र कुँवरले प्रतियोगितामा आफ्नो चौथो गोल पूरा गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा अग्रता कायम राखेका छन्।
कर्णाली प्रदेश फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिकाले संरक्षकको भूमिका निर्वाह गरेको छ भने जिल्ला फुटबल संघ सुर्खेतले प्राविधिक सहयोग प्रदान गरिरहेको छ। प्रतियोगिताको उद्घाटन जेठ १५ गते कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालको अध्यक्षतामा सम्पन्न भएको थियो भने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रमुख अतिथिका रूपमा उद्घाटन गर्नुभएको थियो।
जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल जेठ २१ गते दिउँसो ३ बजे हुने तय गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ७ विभिन्न विधामा जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था रहेको छ।